धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारका कारण जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रदेशसभामा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै मुख्यमन्त्री भट्टले संघीय सरकारले काम गर्ने वातावरण नै नबनाई दिँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए ।
‘एकल अधिकार भएका क्षेत्रमा पनि संघकै कारण काम गर्न सकिएन,’ मुख्यमन्त्री भट्टले भने, ‘साझा अधिकार क्षेत्रमा संघले समयमै नीति निर्माण नै नगरेर अल्झाउने काम गर्यो । जस कारण हामीले सोचे अनुरूप सफलता हासिल गर्न सकेनौं ।’
सुदूरपश्चिम प्रदेशसभाले सबैभन्दा पहिला प्रदेश राजधानी तोकेर नामकरणसमेत गरेको भए पनि संघीय सरकारले जग्गाको भोगाधिकार नदिएका कारण हालसम्म कुनै प्रगति हासिल गर्न नसकिएको मुख्यमन्त्री भट्टको भनाई छ । उनले प्रदेश सरकार आएपछि कुनै काम नै नभएको भन्ने कुरा भने सत्य नभएको बताए ।