जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी मुख्यालय गठन गरेको हो ।
पार्टीभित्र देखिएका जल्दाबल्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा आवश्यक निर्णय गर्नेगरी हेडक्वाटर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले बताए ।
कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वाटरले आवश्यक निर्णय गर्ने बताइएको छ । कार्यकारिणी सदस्य राईका अनुसार बैठकले स्थानीय निर्वाचन निर्देशिका २०७८ को उम्मेदवार चयन लगायत मापदण्ड पारित गरेको छ ।
त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भ्रातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने पनि बैठकले निर्णय गरेको छ । जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ ।
यस्तै जसपाको बैठकले आगामी असार १ र २ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय गरिएको छ ।
पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए । जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार सम्पन्न भएको पनि जसपाले जनाएको छ ।