आफ्नै काकाको बीभत्स हत्या गरी फरार भएका बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानी गिरीबाडा बस्ने अभियुक्त भरत गिरीलाई १६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । गिरीले २०६३ साल माघ ४ गते काका नवराज गिरीको हत्या गरेका थिए ।
हत्याका अभियुक्त गिरी भारतको उत्तराखण्डमा बस्दै आएको प्रहरीले जनाएको छ । नवराज गिरीको हत्या भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दिएपछि अभियुक्त गिरी फरार भएका थिए ।
तत्काल मृतकका दाइले किटानी जाहेर दिई अनुसन्धान पश्चात् १२ जना माथि अनुसन्धान भएकोमा गिरी घटना स्थलबाटै सोही दिन फरार भएको प्रहरीले जनाएको छ ।अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुराले २०७८ माघ ४ गते सर्वश्व सहित जन्मकैदको फैसला ठहर गरेको थियो ।
२०७० साल भदौ २१ गते अदालतले फरार मुख्य अभियुक्त गिरीलाई जन्मकैदको फैसला ठहर गरेको थियो । इन्टरपोल सँगको समन्वय तथा भारतीय प्रहरीको सहयोगमा अभियुक्त गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले जानकारी दिए ।
उनका अनुसार १६ वर्ष देखि फरार रहेका अभियुक्त गिरीलाई कानुनी प्रक्रिया पु(याएर २०७८ फागुन १० गते पक्राउ गरी जिल्ला अदालतमा पठाइएको छ ।