टिप्पर दुर्घटनामा परी विद्यार्थीहरुको मृत्यु भएपछि बैतडीको पाटन नगरपालिकाले शोक बिदा दिएको छ।
सोमबार पाटन नगरपालिका– ३ झालीमालीमा टिप्पर दुर्घटना परी एक स्थानीयसहित ३ जना विद्यार्थीको मृत्यु भएपछि नगरपालिकाले मंगलबार शोक बिदा दिएको हो।
आज नगर क्षेत्रभित्रका सबै शिक्षण संस्था बन्द रहने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताएका छन्।सोमबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको थियो।
दुर्घटनामा परी हालसम्म सिगास मावि गौरीशंकर पोखरीमा अध्ययनरत ३ जना विद्यार्थी ज्ञानु विष्ट, ललित अवस्थी र राजेशराज पन्त मृत्यु भएको छ। यस्तै पाटन नगरपालिका– ३ का ४५ वर्षीय जनकराज पन्तको पनि घटनास्थलमै ज्यान गएको थियो।