प्रहरीले काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट युरेनियम पदार्थसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
युरेनियमको संकलन, भण्डारण तथा विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ हायात होटलमा ३५ करोडमा करोवार हुन थालेको युरोनियमसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का र ललितपुर निवासी ६० वर्षीय नवराज महत, सिन्धुपाल्चोक घर भई महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिराहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई गोकर्णेश्वर, शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, महोत्तरी एकाडाराका ४४ वर्षीय राजु ठाकुर र भारतको बिहारस्थित गया चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र रहेका छन् ।
टोलीले हायातमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट दुई किलो ८ सय ग्राम तौल भएको युरोनियम पदार्थ समेत बरामद गरेको हो ।
उनीहरुमाथि सोधपुछ गर्दा युरोनियम पदार्थ भारतबाट ल्याएको र प्रति किलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । प्रति किलो ३५ करोडका दरले उक्त युरोनियमको मूल्य ९८ करोड हुन आउने प्रहरीले जनाएको छ ।
उनीहरुमाथि ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान भरिरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।