पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा देशभर प्रदर्शन भईरहेको छ । युवाहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर सरकारको विरोध गरिरहेका छन् ।
यसैबीच युवाहरूले जनकपुरमा प्रधानमन्त्री शेरवहादुर देउवाको पुतला दहन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले बुधबार दिउँसो जनकपुरको जनक चौकमा सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन्।
जनकपुरको शिव चौकबाट निस्केको जुलुस जनकचौक पुगेर पुतला दहन गरेको अनेरास्ववियुका मधेस प्रदेश अध्यक्ष अञ्जना सिवाकोटीले बताइन्। प्रदर्शनकारीहरु स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नसमेत माग गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन यादवले जानकारी दिए।
नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आफूहरु आन्दोलित भएको अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन यादवले जानकारी दिए। यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैँया तय गरेको छ। डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैँया तोकिएको छ।
एलपी ग्यासको मूल्य यथावत राखिएको छ। यसअघि पेट्रोलको मूल्य ३ रुपैँयाले बढेर १३९ रुपैँया पुगेको थियो। डिजेल र मट्टीतेलमा पनि ३ रुपैँया बढेर १२२ रुपैँया पुगेको थियो।