नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीयि सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् ।
अहिले पाँच बजेपछि उम्मेदवार दर्ताको समय सकिएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ ।
४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।६ जना उम्मेदवार भए पनि मुख्यप्रतिस्पर्धा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने देखिएको छ ।
