अवैध रूपमा भन्सार छली भित्र्याइएको ५० लाख भन्दा बढीको भारतीय कपडा, किराना सामान लोड गरेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक सहित चालक समेत प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ना.३ ख २२९ नम्बरको मालवाहक ट्रकलाई गएराति १२ बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल विजक नभएको भारतीय कपडा तथा किराना सामग्री भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताए ।
भन्सार छली भित्र्याइएका भारतीय कपडा, खुद्रा सामग्री सहित नियन्त्रणमा लिएको ट्रकलाई ५० लाख मूल्याङ्कन गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय वारा पथलैयामा बुझाइएको प्रवक्ता खनालले बताए ।
ट्रक सहित चालक बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं.९ निवासी २५ वर्षीय सागर रायलाई समेत नियन्त्रणमा लिई थप कारवाहीका लागि राजस्व अनुसन्धानमा पठाइएको प्रवक्ता खनालले बताए ।