शैक्षिक सुधारका लागी ५ बुंदे माग सहित सातवटा विधार्थी संगठनहरुले संयुक्त विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्रिभुवन विश्वविधालयमा करार शिक्षकहरुलाई स्थाई गर्ने निर्णयको तत्कालै खारेजी, सिटिईभिटिमा पिसिएल नर्सिंगमा भर्ना खोल्नुपर्ने लगायतका ५ बुंदे माग सहित विधार्थी संगठनहरुले विज्ञप्ती निकालेका हुन ।
विज्ञप्तीमा आन्तरिक प्रतिस्पर्धाको नाममा करार शिक्षकलाई स्थायी गरिने प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन नगर्न भनिएको छ
त्यस्तै सिटिईभिटिबाट रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खोल्नुपर्ने, चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क वाहेक थप शुल्क उठाउने मेडिकल कलेजहरुलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।
सरकारले कारवाही नगरे विद्यार्थीहरुले आन्दोलन मार्फत कारवाही गर्ने चेतावनी समेत उनिहरुले दिएका छन् ।
विज्ञप्तीमा पुर्वाञ्चल विश्वविद्यालयले डेढवर्ष अघि लिएको परिक्षाको परिक्षाफल प्रकाशित गर्नुपर्ने तथा विश्वविद्यालयले क्यालेन्डर बनाई कडाईका साथ कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यस्तै दैनिक उपभोग्य बस्तुमा भएको महंगीलाई नियन्त्रण गर्न तथा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय समेत गरिएको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका कार्यकारी अध्यक्ष वसिम आलम, समाजवादी बिधार्थी यूनियन का अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतका विधार्थी नेताहरुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।