राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी सदस्य राजन श्रेष्ठको कुटपिटबाट हत्या भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा गम्भीर घाइते अवस्थामा उनलाई भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले बताए।
प्रहरीको टोलीले श्रेष्ठलाई उपचारको लागि थिमीस्थित मध्यपुर अस्पतालमा पुयाएको थियो। उपचारको क्रममा रातिनै उनको मृत्यु भएको प्रहरीले बताएको छ।
हत्या के कारणले भएको हो भन्ने अझै खुल्न नसकेको प्रहरी निरीक्षक जिसीले बताए। मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको र कुटपिटबाट तथा हतियार प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत थिमीबाट प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ। हत्यामा सलंग्न भएको आशंकामा केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको उनले बताए।