भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको ६३ वर्षको उमेरमा निधन भएको छ ।
तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नी मधुलिकाको निधन भएको हो । भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ । हेलिकप्टर कोयम्बटोरमा रहेको सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेको ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाँदै थियो ।
रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उनको परिवारसँग भेट गरेका थिए । जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए । यो हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।
जनरल रावत यसअघि भारतीय सेनाको प्रमुख भईसकेका थिए । उनि सन् २०१६ डिसेम्बर ३१ तारिखदेखि २०१७ जनवरीसम्म भारतका २६ औँ सेना प्रमुख रहेका थिए ।