सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले घरेलु उद्योग पनि परिवर्तनसँगै आधुनिकतातिर जानुपर्ने जरुरी रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित दोस्रो अधिवेशन एवं दोस्रो महिला सम्मेलनको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले घरेलु उद्योग परिवर्तनसँगै आधुनिकतातिर जान सकिएन भने जति प्रयास गरे पनि माथि उठ्न नसकिने बताए ।
“कुनै पनि ठाउँमा कुनै उद्योगले एउटा नयाँ चिज उत्पादन गर्दछ भने त्यसको लागि बजार आफैँ तयार हुन्छ, मानिस नयाँ नयाँ कुरा चाहन्छ, उसले आज जे चिज प्रयोग गरेको छ भोलि त्यो प्रयोग गर्दैन, आज जे खाएको छ त्यो भोलि खाँदैन”, मुख्यमन्त्री भट्टले भने, “त्यसैले सोही आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्ने जरुरी हुन्छ, होइन भने हामी अगाडि बढ्न सक्दैनौँ ।”
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले विगतमा घरेलु तथा साना उद्योगका विभिन्न खालका नीतिगत समस्या रहेको भन्दै र ती समस्यालाई अब चाँडोभन्दा चाँडो समाधान गर्ने प्रक्रियामा प्रदेश सरकार रहेको बताए ।