नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिका लागि पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । देउवा समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बनेका छन् भने कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले पौडेल पक्षबाट उम्मेदवारी दिएका हुन् ।
सबैको जोड प्रदेश सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए । बलायर प्यानलबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी र जनक चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का , सह–महामन्त्रीमा अम्बिका चलाउने, चिन्तामणी भट्ट र गोपालदत्त भट्टले उम्मेदवार भएका छन् ।
यस्तै मिश्र प्यानबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्टले उम्मेदवार दिएका छन ।
सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो । तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि प्यानलसहित चुनावमा होमिएको हो ।समहति नभएपछि देउवा र पौडेल पक्षले प्यानल बनाएर मनोनयन दर्ता गराएका हुन् ।