लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले औद्योगिक क्षेत्रको विकासका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । रुपन्देही उद्योग सङ्घको ४४औँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित उद्योगी सम्मान तथा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७७ वितरण समारोहमा उनले उद्योगमैत्री वातावरण बनाउन नसक्दासम्म राष्ट्रिय विकास हुन नसक्ने उल्लेख गरे ।
नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीमा रहेको परनिर्भर भावनाको अन्त्य हुनुपर्ने धारणा राखे । प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवश्यकता रहेको बताउँदै वास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने बेला भएको बताए ।
राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगतरूपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफूलाई त्यसैअनुसार उभ्याउन सक्नुपर्ने बताए ।