राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । अभिनेत्रीसमेत रहेकी रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री उम्मेदवारी दिने भएकी हुन् ।
राप्रपामा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । राप्रपामा १ जना महिलासहित ३ महामन्त्री अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ ।
लिङ्देन प्यानलबाट गोविन्द खनियाँ र नेपालगञ्ज उपमहानगरका मेयर धवल शमशेर जबरा पनि आकांक्षी हुन् । यता थापाको प्यानलबाट महामन्त्री पदका लागि कुन्ति शाहीले उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।
राप्रपाको अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद लिङ्देन उठ्दै छन् ।आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरु भएको छ । राप्रपाको आज उद्घाटनसत्र सकिएको छ । उम्मेदवारी दर्ता, मनोनयन, निर्वाचनलगायत कार्यक्रम बिहीबार हुनेछ ।