तान्जानियाको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ।मृतकमध्ये एक जना तीनवर्षे बच्चा पनि भएको बताइएको छ।
विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्।तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन्। स्पष्ट कारण थाहा नभए पनि कछुवाले खाने विषालु लेउका कारण त्यसो हुन सक्ने टर्टल फाउन्डेशन नामक संस्थाले जनाएको छ।
मासु खाएको भोलिपल्ट उनीहरू बिरामी पर्न थालेको बुझिएको छ र एक तीनवर्षे बच्चाको मृत्यु भएपछि शुक्रवार राति थप दुई जनाको र आइतवार चार जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार ३८ जनालाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ।अहिले अस्पतालमा भएका बिरामीको अवस्था स्थिर भएको अधिकारीहरूले बताएका छन्।