सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार जगत निष्पक्ष हुनु पर्ने बताएका छन् । सोमबार धनगढीमा प्रेस सेन्टर नेपालको प्रदेश स्तरीय दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री भट्टले पेशागत रुपमा सञ्चार जगत निष्पक्ष हुन आवश्यक रहेको उल्लेख गरे । ‘यदि, त्यसो भएन भने मिडिया जगत पूर्वाग्रही हुन्छ र कहिलेकाँही हामी त्यस्तो भएको देख्ने गर्दछौ’, उनले भने, ‘नेपालमा विशुद्ध स्वतन्त्र मान्छे भेटिदैनन् । हरकोही कहीँ न कहीँ आस्थावान हुन्छ तर, सञ्चार जगत निष्पक्ष हुनै पर्दछ ।’
मुख्यमन्त्री भट्टले सञ्चार जगत स्वतन्त्र रहनु पर्ने कुरामा कसैको दुईमत नरहेको बताए । यद्यपि, सञ्चारकर्मी कति स्वतन्त्र हुनुपर्छ भन्ने कुरामा भने बहस गर्न आवश्यक रहेको उल्लेख गरे ।