विश्व स्वास्थ्य संगठन डब्लूएचओले नयाँ भेरियन्ट अफ कन्सर्नु ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ।
यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड-१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ, डब्लूएचओकी क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनिन् ।
विज्ञप्तीमा दक्षिण-पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ।