अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आज आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयअनुसार चल्ने बताएका हुन् ।
मन्त्री शर्माले भने, ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।’ देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए ।
अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको बताए ।
फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेशनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरूलाई निराश नहुनुस् र अघि बढ्नुस् भनेको छु,’ उनले भने ।