मुख्यमन्त्री जीवनबहादुर शाहीले निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास सम्भव नभएको भन्दै कर्णालीमा लगानी गर्न आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले कर्णाली लगानीका लागि उपयुक्त स्थान भएको बताए ।
मुख्यमन्त्री शाहीले जलविद्युत्, जडीबुटी, खानी र कृषिजन्य क्षेत्र लगानी निजी क्षेत्रलाई आह्वान गरे । “यहाँ लगानीका लागि प्रचुर सम्भावना छन्, कच्चा पदार्थ पर्याप्त छन्”, शाहीले भने, “मझौला र ठूला प्रकृतिका उद्योगहरू सञ्चालन गर्नुस्, प्रदेश सरकार त्यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न तत्पर छ ।”
उनले कोरोना महामारीका कारण प्रदेश सरकारले अघिल्ला दुई वर्षदेखि लगानी सम्मेलन आयोजना गर्न नसकेको बताए । प्रदेश सरकार उद्योग क्षेत्रसम्म सडक, विद्युत् र शान्ति सुरक्षाको व्यवस्था मिलाउन तयार रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।“कर्णालीमा ठूलो परिमाणमा लगानी गर्नुस्, बाह्य लगानीकर्तालाई पनि साझेदारीका रूपमा बोलाउनुस्, सरकार तपाईँहरुको लगानी डुब्न दिँदैन,” उनले भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीमैत्री वातावरण नभएकै कारण कर्णालीमा आर्थिक गतिविधि बढ्न नसकेको विचार व्यक्त गरे । “प्रदेश सरकारले यदि लगानीमैत्री वातावरण बनाउँछ भने हामी यहाँ आउन तयार छौँ”, श्रेष्ठले भने , “कर्णालीमा गरेको लगानी डुब्दैन भन्ने विश्वास सरकारले हामी व्यवसायीलाई दिलाए ।”
कोरोना भाइरस महामारीका कारण विगत तीन वर्षदेखि हुन नसकेको सङ्घको साधारणसभा संयुक्तरूपमा आयोजना गरिएको हो । साधारणसभामा सङ्घका अध्यक्ष धनबहादुर रावतले ३६ र ३७औँ वार्षिक नीति तथा कार्यक्रम तथा महासचिव लक्ष्मण कँडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री शाहीलाई २५ बुँदे मागपत्र बुझाएको छ । सङ्घले कर्णालीको आर्थिक विकासका लागि एक जिल्ला एक उद्योग स्थापना, चौकुने र लखरपाटा सिमेन्ट उद्योग, माथिल्लो कर्णाली जलविद्युत् आयोजना, अग्र्यानिक कृषि अनुसन्धान केन्द्र, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र प्रादेशिक मेडिकल कलेजको स्थापना तथा सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्नेलगायत माग समेटेर ज्ञापनपत्र बुझाएको हो ।
त्यस्तै सङ्घले आर्थिक पत्रकारिता पुरस्कार सुर्खेतका तीन पत्रकारलाई प्रदान गरिएको छ । आर्थिक पत्रकारिता पुरस्कार (२०७६) बाट नेपाली रैबार अनलाइनका सुशील खड्का, २०७७ बाट युगआह्वान दैनिकका देव राना र २०७८ बाट जागरण एफएमका सिर्जना बुढाथोकीलाई वितरण गरिएको हो ।