सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाएका छन् ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेका उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको बताए ।
“देशमा सबै कम्युनिष्ट एक हुनुपर्ने जनभावना भए पनि केही ठूला नेताले आफू मात्रै ठूलो र अरू सबै साना देख्ने प्रवृत्तिका कारण कम्युनिष्ट एक हुन सकेनन्, जसको उदाहरण नेकपा एकता कायम नहुनु हो,” उनले भने ।
माओवादी विसं २०६४ मा देशकै ठूलो पार्टी भए पनि जनभावनाअनुसार काम गर्न नसक्दा तेस्रो दलमा झरेको स्मरण गर्दै उहाँले अब पुनः नेकपा माओवादी २०६४ सालको जस्तै देशमै सबै पार्टीभन्दा ठूलो दल हुनेसमेत जिकिर गरे । “हामीले अहिले जनभावनाअनुसार सबै क्षेत्रमा काम गरेका छौँ”, उनले भने, “अब माओवादी २०६४ सालको जस्तै देशको ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।”
देशमा आमूल परिर्वत ल्याउन ठूलो योगदान दिएकाले नागरिकले पनि माओवादीलाई पुनः ठूलो दल बनाउन साथ दिने उनको विश्वास थियो ।माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम क्षेत्रमा नागरिकले देख्ने गरी विकास गरेकाले पछिल्लो सयम नागरिक माओवादीप्रति आकर्षित हुन थालेको मुख्यमन्त्री भट्टले बताए ।