गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।
यस अवसरमा ७०० जनालाई भण्डारा गराइएको स्वामी गोकुलानन्दले राससलाई जानकारी दिए । गुरु ग्रन्थ साहिबको अखण्ड पाठ एवं भोगप्रसाद पनि सम्पन्न भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ । यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइएको हो ।
पवित्रस्थल गुरुद्वारामा विशेष पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज कुपण्डोलस्थित गुरुद्वारामा पनि पाठ पारायण एवं पूजा आराधना गरी मनाइएको छ ।
गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराएका हुन् ।
अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेका थिए ।
निर्गुण उपासनाका पक्षपाती गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो भन्ने शिख समुदायको मान्यता छ ।-रासस