दुई साताअघि प्रदेश नम्बर १ का मुख्यमन्त्री बनेका राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका उनलाई गठबन्धनका सबैको भोट जाने निश्चित भएकाले उनको पक्षमा बहुमत पुग्ने देखिएको छ । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।
राईलाई मत दिने पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । जवकी उनलाई ४७ मत भए पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ रहेकोले उनको पक्षमा ४७ मत भए पुग्ने देखिएको हो । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । यस्तै मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् ।
राईले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै सभामुखले बैठक स्थगित गरेर आजको लागि सारेका थिए । सभामुखले एमालेको अनुरोधमा बैठक सारेको बताइएको छ ।