काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुँदा चालक र यात्रुको मृत्यु भएको छ । मंगलबार साँझ पौने ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
मुत्यु हुनेमा स्कुटरचालक धादिङ घर भई अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका रामबहादुर आचार्य र यात्रु बाँके घर भई हाल इमाडोल बस्दे आएका ५२ वर्षका यादवकुमार शाह छन् ।
कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले डक्टर दिँदा स्कुटरचालक र यात्रु घाइते भएका थिए ।
गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो । उपचारका क्रममा दुवैको मुत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।