कञ्चनपुर प्रहरीले लाखौं मूल्य बराबरको गहनासहित सोमबारराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १६३ तोला १३ आन सुन र विभिन्न देशका मुद्रासहित बेलौरी नगरपालिका–१ का ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अ८ वर्षीया विष्णु शाहीलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।
लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, विदेशी मुद्रा, पत्थर र चार थान ल्यापटप बरामद गरेको गणले जनाएको छ । उनीहरुको साथबाट भारु ४३ हजार ९००, हङकङ डलर ४०, थाईल्याण्ड भाट एक हजार २६०, अमेरिकी डर एक हजार पाँच बरामद गरिएको छ ।
यसैगरी, क्यानडियन डलर दुई हजार ८१०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतार रियाल एक, दुबई दिराम १३०, चाईना युवान १६ बरामद गरेको जनाइएको छ । यस्तै, एक हजार ९९८ ग्राम पत्थर पनि बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।