संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो ।
मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिए । सोही क्रममा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी दिए ।
सो अवसरमा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन इच्छुक रहेको बताए ।यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरे ।
राजदूत गोदरसँग मन्त्री आलेले नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको बताए । नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हर्वाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन दिए ।
भेटवार्ताकै क्रममा राजदूत गोदरले गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिल्म हेर्न मिल्ने प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिल्म हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रणसमेत गरे ।
भेटकै क्रममा मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाई दिन वा जिटुजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरे। सो विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिए ।