भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताएकी छिन् ।
मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकाङ्क्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताइृन् । उनले सबै कर्मचारीलाई काठमाडौँ केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताईन् । काठमाडौँ उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको छ । “१५ दिन वा एक महिनामा एक किलोमिटर सडक बने पनि त्यो जानकारी गराउनुपर्छ,” उनले भनिन् ।
कुनै पनि योजनामा ठेक्का सम्झौता गर्नै प्रक्रियामा नै त्रुटि भएकाले समस्या आउने गरेको मन्त्री यादवले बताईन् । सबैभन्दा कम रकममा काम गर्न तयार हुनेलाई जिम्मेवारी दिँदा गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने उनको भनाई छ । “यतिभन्दा कम कबोल गर्न नपाइने वा रकमका आधारमा यति स्थानमा भएकालाई छनोट गरिने भन्ने व्यवस्था गर्दा यो समस्या हट्न सक्छ,” उनले भनिन् ।
चालक अनुमतिपत्र वितरण र राजस्व सङ्कलन प्रदेशले गरे पनि छपाइको काम सङ्घले गर्नुपर्ने मन्त्री यादवले बताईन् । अनुमतिपत्र आधिकारिक कागजात भएकाले पनि यसमा एकरुपता चाहिने उनको भनाइ छ । सार्वजनिक सवारीसाधनमा रकमको साटो कार्डको व्यवस्था गरिनुपर्नेमा उनको जोड छ । “कम्तीमा काठमाडौँ उपत्यकाबाट यसलाई सुरु गर्न सकिए पनि राम्रो हुनेछ,” उनले भनिन् ।
कुर्था–जयनगर खण्डमा रेल सञ्चालनको सबै तयारी भइसकेकाले छिट्टै गरिने र काठमाडौँको चक्रपथमा विद्युतीय बस सञ्चालन गरिने उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्ग जस्तै ठाउँठाउँमा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्दै जाने उनले बताईन् ।