झापाको गौरादह नगरपालिका वडा नं. ५ मा पाँच जनाको मिलेमतोमा ४६ वर्षीय मबेशिर हुसेन मियाँको हत्या भएको घटना सार्वजनिक भएको छ। उनीहरूले हुसेनलाई विभिन्न हतियार प्रहार गरी मारेर सेफ्टी ट्यांकभित्र फालेको प्रहरीले जनाएको छ। हुसेनको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन्।
गत कार्तिक ११ गते विहान ११ बजे देखि हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिएपछि हुसेनको हत्या गरिएको हुनसक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्यांक भित्र दुर्गन्धित अवस्थामा हुसेनको शव फेला परेको थियो।
घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) प्रहरीले बरामद गरेको छ। हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।