क्रियाशील सदस्य विवादका कारण यसअघि रोकिएको कैलाली काङ्ग्रेसको वडा तहको अधिवेशन आज९शनिबार० देखि सुरु हुने भएको छ। यहाँको क्रियाशील विवाद समाधान भएपछि केन्द्रीय कमिटीले निर्धारण गरेको तालिकानुसार आज वडा तहको अधिवेशन हुन लागेको हो ।
अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटिसकेको जिल्ला सभापति नरनारायण शाह मनुले जानकारी दिए । उनले अब कुनै पनि विवाद नरहेका कारण १२६ वटै वडामा शान्तिपूर्ण वातावरणमा अधिवेशन सम्पन्न हुने बताए ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको थियो । यसअघि, विभिन्न जिल्लामा अधिवेशन सम्पन्न भइसकेपनि क्रियाशील विवाद भएका जिल्लामा अधिवेशन पछाडि धकेलिएको थियो । कतिपय जिल्लामा अझै पनि अधिवेशन अनिश्चित छ ।
जिल्ला सभापतिमा को–को आकाङ्क्षी ?
नेपाली काङ्ग्रेस कैलालीको आगामी अधिवेशनबाट जिल्ला सभापतिको पद् हत्याउनका लागि छ जना आकाङ्क्षी देखिएका छन् । अहिलेसम्म सभापतिको लागि छ जनाले दाबी गरेको जिल्ला समितिले जानकारी दिएको छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बम, धनगढी उपमहानगरपालिकाका प्रमुख नृबहादुर वड, क्षेत्रीय सभापति खेमराज चौधरी जिल्ला सभापतिको लागि आकाङ्क्षी रहेको सभापति शाहले जानकारी दिए ।
यसैगरी, पूर्व उपसभापति नारायण भट्ट, महाधिवेशन प्रतिनिधि मीन बडाल र गणेश देउवा सभापतिका लागि आकाङ्क्षी रहेको उनले बताए । जिल्ला सभापतिभन्दा पहिले महाधिवेशन प्रतिनिधि चयनको बाध्यात्मक परिस्थिति रहेका कारण जिल्ला सभापतिको लागि को उम्मेदवार हुने वा नहुने भन्ने कुरा गर्न अहिले नै हतार गर्न नहुने सभापति शाहले बताए ।