क्रियाशील सदस्य विवादका कारण यसअघि रोकिएको कैलाली काङ्ग्रेसको वडा तहको अधिवेशन भोली (शनिबार) देखि सुरु हुने भएको छ। यहाँको क्रियाशील विवाद समाधान भएपछि केन्द्रीय कमिटीले निर्धारण गरेको तालिकानुसार भोली वडा तहको अधिवेशन हुन लागेको हो ।
वडा तहको अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नेपाली काङ्ग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटिसकेको जिल्ला सभापति नरनारायण शाह मनुले जानकारी दिए । उनले अब कुनै पनि विवाद नरहेका कारण १२६ वटै वडामा शान्तिपूर्ण वातावरणमा अधिवेशन सम्पन्न हुने बताए ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको थियो । यसअघि, विभिन्न जिल्लामा अधिवेशन सम्पन्न भइसकेपनि क्रियाशील विवाद भएका जिल्लामा अधिवेशन पछाडि धकेलिएको थियो । कतिपय जिल्लामा अझै पनि अधिवेशन अनिश्चित छ ।