नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ ।
‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टी सहितको विरोध कार्यक्रमहरू सम्पन्न भएका छन् । मिति २०७८ कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भएकोले काठमाडौं उपत्यकामा रहनु भएका सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई उक्त कार्यक्रममा बिहान १०ः३० बजे नेबाएमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टी सहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ’, आइतबार महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
देशभरिका बार एकाइका अध्यक्ष, सचिवज्यूहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिने बताइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।
याधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् । उनीहरू पनि भोलि बिहानैबाट जबराविरुद्धको आन्दोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् ।
