नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो ।
अब निर्यात पनि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । अस्ति मात्रै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो ।
यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्)मा बिक्री गर्न थालिएको छ ।
साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी विद्युत् गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमतिका लागि समेत आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि भारतीय बजार विद्युत् निर्यात सुरु भएसँगै नेपालमा जलविद्युत् विकासको ठूलो ढोका खुलेको बताए ।