प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्य ९बेलायत० को ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन आएकाउनिहरूबीच आज मङ्गलवार ‘साइड लाइन’ भेटवार्ता भएको हो ।
भेटवार्तामा उनिहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।दुवै देशबीच सुमधुर सम्बन्ध छ । उनिहरूबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुद बनाउनेलगायत विषयमा कुरा भएको थियो ।
भेटमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र त्यसमा नेपालको सद्भाव होस् भन्ने चाहना राखेको सचिव पौड्यालले बताए ।
यसैगरी दुवै देशको पर्यटनका क्षेत्रमा प्रवर्द्धन गर्ने र सम्बन्ध अझ मजबुद बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उनिहरूबीच छलफल भएको थियो ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति बेलायत पुग्नुभएको थियो । यही कात्तिक १४ गतेदेखि बेलायतको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ ।
नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवहरू, उच्च अधिकारी, सञ्चारकर्मीलगायत रहेका छन् ।