सरकारले खुला योग तथा व्यायामबाट स्वस्थ रहन सातवटै प्रदेशमा व्यायामशाला स्थापनाको तयारी गरेको छ ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले मानिसलाई योगाभ्यास तथा व्यायाम गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातवटै प्रदेशका राजधानीमा व्यायामशाला स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । मङ्गलबार देशैभरि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी ’ भन्ने मुल नारासाथ आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइँदै छ ।
उनले बगैँचा र शान्त भएको ठाउँमा त्यस्ता व्यायामशाला बनाउने बताए । व्यायामशालामा १५ वटा विभिन्न उपकरण राखिनेछ । ती उपकरणबाट सर्वसाधारणले बिहान वा बेलुका व्यायाम गर्न सक्ने उहाँको भनाइ रहेको थियो । अहिले विभागले कीर्तिपुर, बुढानिलकण्ठ र तिलोत्तमा नगरपालिकामा भने व्यायामशाला बनाइसकेको छ ।
उनले सर्वसाधारणलाई आधुनिक चिकित्साभन्दा आयुर्वेदिक चिकित्सातर्फ आकर्षण गराउने सके जीवन स्वस्थ रहने बताए । आयुर्वेदिक चिकित्साबाट उपचार गर्दा मानिसमा पाश्र्व प्रभाव पनि नहुने र मानिस स्वस्थ जीवन जीउने सिकाउने उनको भनाई छ ।
उनले बिहान उठ्ने बित्तिकै अदुवा, मरिच र तुलसीको पात हालेर तातोपानीमा खाँदा शरिरलाई स्वस्थ राख्न सहयोग मिल्ने बताए । आयुर्वेदिक चिकित्सा शाखाका प्रमुख डा मुनकर्ण थापाले नेपालमा अहिलेसम्म ३११ स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए ।
आयुर्वेदलाई सरकारले न्यून बजेट उपलब्ध गराएको हुनाले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गर्न नसकिएको बताए । अहिले २१८ स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको र यसै वर्ष थप ८१ वटा स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गर्ने उनले जानकारी दिए ।