जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले मेयर लालकिशोर साहकै घर अगाडि फोहोर फ्यांकेका छन् ।
फोहोर व्यवस्थापनमा उपमहानगरपालिका कार्यालय उदासिन देखिएको भन्दै उनिहरुले मेयर साहकै घर अगाडि फोहर फ्याकेको बताएका छन् ।
महिनौदेखि अव्यवस्थित रहेको फोहर व्यवस्थापनमा उदासिनता देखाएको र तराई–मधेशको महान चांड शुभदीपावली तथा छठपर्व नजिकिए पनि उपमहानगरभित्रको फोहोर व्यवस्थापन नगरिदा सो कदम उठाईएको वडाध्यक्षहरुले बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १,३,४ र ७ का वडाध्यक्ष तथा स्थानिय युवाहरुले वडामा थुप्रिएको फोहोर जम्मा गरेर मेयर लालकिशोर साहको घरअगाडि फालेका हुन् ।
व्यवस्थित डंपिंग साइटको अभावमा उपमहानगरपालिका भित्रको फोहोर व्यवस्थापन हुन नसक्दा त्यहांका नागरिकहरुले सास्ति भोग्दै आएका छन् ।
वडाहरुमा उत्पादन हुने फोहोर व्यवस्थापनका लागि नगरपालिका कार्यालयले सहयोग नगरेको र स्वयम मेयर साहलाई पटक–पटक जानकारी गराउंदा समेत ध्यान नदिएकोले आक्रोशित भएका जनप्रतिनिधिहरुले मेर साहकै घर अगाडी फोहोर फालेका हुन् ।
वडामा थुपारिएको फोहोर संकलन गरेर एकजना वडाध्यक्ष आफैले ट्राक्टरमा चलाएर मेयर साहको घरसम्म पुर्याएका थिए । त्यहां उनिहरुले फोहोर फालेर धर्ना तथा प्रदर्शन समेत गरेका थिए ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्राक्टरसम्म उपलब्ध नगराएकोले बिरोधस्वरुप मेयरको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।