महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको संघीय संसद्को विकास तथा प्रविधि समितिले निरीक्षण गरेको छ ।
समिति सभापति कल्याणी खड्का नेतृत्वको १३ सदस्यीय टोलीले नेपाली सेनाको हेलिकोप्टरमार्फत उक्त सडकको निरीक्षण तथा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।
शुक्रबार बिहान करिब १० बजे आएको उक्त समिति हेलिकोप्टरमार्फत व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु पुगेको थियो । छाङरुमा स्थानीयसँग छलफल गरी नेपाली सेनाले ब्यास गाउँपालिका-२ मा निर्माण गरिरहेको सडकको हवाइ निरीक्षणसमेत गरेको उनले बताए ।
ब्यास गाउँपालिका-४ सुन्सेरामा रहेको नेपाली सेनाको विकास निर्माण दलको क्याम्पमा पुगेर समितिले तिंकर सडकको निर्माण प्रगतिबारे जानकारी लिएको छ । सडकको निरीक्षण गरी टोली दिउँसो १ बजे बझाङका लागि प्रस्थान गरेको थियो ।