बागमती प्रदेशका मुख्य महान्यायाधिवक्ता ओम प्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्य महान्यायाधिवक्ता नियुक्त भएका थपलियाले एमालेको सरकार ढलेसँगै बिहीबार पदबाट राजीनामा दिएका हुन् ।
उनले आज प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएका छन् । थपलियालाई २०७६ साल साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेश प्रमुखले मुख्य महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
थपलियाले बदलिँदो राजनीतिक परिवेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिई नयाँ परिस्थिति सृजना भएको कारण पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
उनले आफूले पाएको जिम्मेवारी सफलता पूर्वक बहन गर्न सफल समेत बताएका छन् । यस्तै बागमती प्रदेशले आज नै राजेन्द्र पाण्डेको नेृतत्वमा नयाँ सरकार गठन भएको छ । हिजो अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा चयन भएका हुन् ।