प्रदेश नंं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले पत्रकारहरूको पेशागत सुरक्षाका लागि तयार रहेको बताएका छन् ।
सञ्चारमन्त्री साहले प्रेस सेन्टर नेपाल धनुषाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मी तथा सञ्चारजगतले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुने बताए ।
पत्रकारिता क्षेत्र जहिले पनि आम जनताको न्याय तथा पीडित समुदायको हित एवं विकृति एवं विसङ्गतिको विरुद्धमा कलम चलाउने भएकाले नै पत्रकारको क्षमताको विकासका लागि क्षमता विकासको कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश सरकार तयार भएको उनले बताए ।
आन्तरिक मामिला मन्त्री साहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं सुदृढीकरणमा पत्रकारिता जगतले काम गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकारले गर्ने कमी कमजोरीको विषयमा पनि खबरदारी गर्नका लागि सुझाव दिए ।