गएको कात्तिक १ र २ गते परेको अविरल बर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाभित्र तीनजनाको मृत्यु भएको छ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज यहाँ बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिँदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप ५० हजार उपलव्ध गराउने निर्णय गरिएको बताए।
उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले सङ्कलन गरिरहेको जानकारी दिए। बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताए।
वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिए। प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उनले बताए। विराटनगर–१ मा सबैभन्दा बढी ६०० घर परिवार डुबानमा परेका छन्।