प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आचार्यले शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमाले फुटेपछि अल्पमतमा परेका आचार्यले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन् । माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेपछि प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा पर्दै गएको छ ।
त्यसको असर प्रदेश नम्बर १ मा पनि परेको छ । प्रदेश १ मा एमाले छाडेर १० जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन् ।
९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद रहेका छन् । सरकार जोगाउनका लागि आचार्यलाई ४७ सांसदको साथ आवश्यक छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आफूसँग ५० सांसद रहेको दाबी गरेको छ ।
प्रदेश नम्बर १ मा पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । गठबन्धनमा नेकपा (एस)का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ ।
सांसद राजन राईले मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत नपाउने दाबी गरे । उनले आफूहरुसँग बहुमत रहेको भन्दै गठबन्धनको सरकार बन्ने विश्वास व्यक्त गरेका छन् ।