सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन्।
वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो। अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन्।
नेकपा एकीकृत समाजवादीकी नेत्रीसमेत रहनुभएकी मन्त्री झाँक्रीले युवाहरुको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताइन्।
आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाइन्।