यस वर्ष नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ। हरेक वर्ष सर्वसाधारणहरुका लागि केन्द्रीय बैंकले नयाँ नोट उपलब्ध गराउँदै आएको छ।
दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ। दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो। यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ।मूल्यका हिसाबले पुरानो र नयाँ नोट एउटै हो। तर, पुरानो नोट आदानप्रदान गर्दा दशैंको आभास नै आउँदैन। त्यसैले नयाँ नोट यतिबेला ‘चिज’ बन्छ। तर, नयाँ नोटलाई राम्ररी हिफाजत नगर्दा पुरानो देखिन समय पनि लाग्दैन।दशैंमा पुजामा प्रयोग गरिने, पानीमा चोबलिने, अविर लगाउने जस्ता कार्यले नोटको आयु कम हुन्छ। नोट छिटो बिग्रिए छिटो–छिटो छपाउनु पर्ने हुन्छ र त्यसका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्नु पर्छ। त्यसैले नयाँ नोटको हिफाजतका लागि राष्ट्र बैंकले बारम्बार आग्रह गर्ने गरेको छ।
आमरुपमा ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गरिन्छ। त्यसैले साना नोट चाँडै च्यातिने गरेको राष्ट्र बैंकको विगतको तथ्यांकहरुले देखाउँछन्। हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु तुलनात्मकरुपमा बढी हुने गरेको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्छन्। जबकि नोटको गुणस्तरमा खासै फरक हुँदैन। हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक बताउछ।
यसपाली पनि राष्ट्र बैंकले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरेको छ। वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या दर्शाउँदै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो। राष्ट्र बैंकले नयाँ नोटलाई दशैँ तिहारमा रङ र पानीबाट बचाउनसमेत आग्रह गरेको छ।
कसरी गर्ने जतन ?
दशैंका बेला नयाँ नोटको कसरी सुरक्षा गर्ने भनेर राष्ट्र बैंकले हरेक वर्ष सर्वसाधारणहरुलाई सचेत गराउँदै आएको छ। नयाँ नोट दक्षिणका रुपमा दिने तर केही सावधानीहरु अपनाए नोटको आयु नघट्ने राष्ट्र बैंकले बताएको छ।
के–के गरेर सुरक्षित राख्न सकिन्छ
१. अविर नलगाउने
२. नोटमा केरमेट नगर्ने
३. पानीमा नभिजाउने
४. नोटलाई खुम्चन नदिने
५. दक्षिणा दिदा खाममा राखेर दिने
६. नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने
७. नोटलाई कच्याककुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने
८. नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझ्ने र अरुलाई बुझाउने
९. पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने
१०. आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने
११. बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं
जेल सजाय समेत हुनसक्ने
नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ। अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ।
एक वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी–नोक्सानी पु¥याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ।