प्रहरीले झापाबाट ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। भद्रपुर नगरपालिका–८ स्थित सडकबाट करिब ९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित बिर्तामोड नगरपालिका–८ का ३१ वर्षीय नबिन खानलाई प्रहरीले पक्राउ गरेको हो।
भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी बुधबार पक्राउ गरेको हो।
यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्यास बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ।
ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो। हाल फरार रहेका ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।