महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा हुम्लाको सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले १ मोबाइल चार्ज गरेबापत १०० रुपैयाँ लिने गरेका छन्।
महंगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन्। व्यवसायीले ३५० रुपैयाँ प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन्।
हुम्लामा सञ्चालित २ रेडियोले पनि आफ्नो प्रसारण बन्द गरेका छन्। समयमै विद्युत् मर्मत हुन नसक्दा दशैंको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण १०० रुपैयाँ तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारवासीको रहेको छ।
अवरुद्ध भएको विद्युत् सेवा मर्मत गरेर सञ्चालनमा ल्याउनका लागि नेपाल विद्युत् प्राधिकरण कार्यालयले कुनै चासो देखाएको छैन। वर्षमा १ पटक आउने चाड भएका कारण सबै कर्मचारी दशैं मनाउन व्यस्त हुँदा सेवाग्राहीले अँध्यारो बस्नुपरिरहेको छ।