सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रुपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैँ मनाउन आह्वान गरेको छ। फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दसैँ मनाउन अनुरोध गरेका हुन्।
नेपालीको महान् चाड दसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएको छ।
यसअघि कोरोनाको दोस्रो लहरसम्म आइसकेकाले सचेत भएर चाडपर्व मनाउन र अहिलेसम्म बालबालिकाका लागि नेपालमा खोप उपलब्ध नभएकाले बालबालिकालाई जोखिम कम हुने गरी पर्व मनाउन सबै अभिभावकले ध्यान दिनुपर्ने फाउन्डेसनको आह्वान छ। पछिल्लो समय सार्वजनिक यातायात, मठमन्दिरमा भीड बढेको र त्यसमा बालबालिकासमेत धेरै देखिएकाले सचेतता अपनाउनुपर्नेमा जोड दिइएको छ।