दुई दिनअघि नयाँ दल दर्ता गरेर सक्रिय राजनीतिमा होमिने घोषणा गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन अभियानको सुरुवात गरेका छन् ।
आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै खरेलले अभियानको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले दलहरूले नेपाललाई अफगानिस्तान, सुडानजस्तो बनाउन लागेको आरोप लगाए ।
दुईतिहाइ बहुमत दिएर दलहरूलाई जिताउँदा पनि देशमा परिवर्तन आउन नसकेको उनले बताए । जनता सचेत नभए देश गम्भीर दुर्घटनामा पर्ने उनले उल्लेख गरे ।
अहिलेको सरकारले एकजना नेपालीको टाउको ५७ हजार रुपैयाँ ऋण पु¥याएको भन्दै उनले विकास र विदेशीले दिएको पैसामा पनि कमिसनखोरी हावी भएको बताए । तीन करोड नेपालीले सहकार्य गरेर पाँच वर्षमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।