गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताएका हुन् ।
आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका आपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबीसमेत गरे । त्यस क्रममा महिला अधिकारकर्मीहरुले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले बताइन् ।
महिला अधिकारकर्मीहरुले पीडितको न्याय खोजी गर्दै नेपालगन्जबाट पैदलै काठमाडौं आई प्रदर्शन गरिरहेकाहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।