सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले दौडधुप थालेका छन्। शनिबार सांसदहरुले प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका छन्।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावलसहितको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारले सत्ता गठबन्धन अनुरुप काम नगरेको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन्। सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने उनीहरुको देउवासँग माग राखेको भेटमा सहभागि एक सांसदले बताए।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेट्न दलका नेता रावल सहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्का पुगेका थिए। तीनै जनाले प्रदेशमा गठबन्धनले कांग्रेसलाई सहयोग नगरेको देउवालाई जानकारी गराएका थिए। ‘सुदूरपश्चिम प्रदेशमा हामीले सरकारलाई सहयोग गरिरहेका छौँ। तर, सरकारले हामीलाई सहयोग गरेन’ देउवासँगको भेटमा काँग्रेस सांसदहरूले भनेका थिए ‘के सुदूरपश्चिम प्रदेशमा दुई पार्टीको मात्रै गठबन्धन हो।’माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन्। केन्द्रमा कांग्रेस र राजपासहितको गठबन्धन हुँदा प्रदेशमा ती दुवै दललाई बेवास्ता गरिएको उनीहरूले प्रधानमन्त्रीलाई गुनासो गरेका थिए।
‘गठबन्धनको नीति नियम अनुसार अघि बढ्नुपर्छ’ भेटका तीनै जनाले एकै स्वरमा भनेका थिए , ‘सुदूरपश्चिम प्रदेश काँग्रेसको भाग पर्छ भने पनि चाडै निर्णय लिनुपर्छ।’ तीनै जनको गुनासोपछि देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिईने बताएका थिए। ‘यो गठबन्धन सबैको साझा कुरा हो। यसमा सबै मिलेर अघि बढ्नु पर्छ’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ। मैले प्रस्ताव राख्छु।’ केही दिनमै यस विषयमा छलफल गर्ने तयारी रहेको र ठोस निर्णय लिने प्रधानमन्त्रीको भनाई रहेको बताइएको छ।
नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँसले नेतृत्व पाउनु पर्ने बताउँदै आइरहेका छन्। काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। माओवादीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीन वटा प्रदेशमा मुख्यमन्त्री पाएको छ। सुदूरपश्चिम प्रदेशमा काँग्रेसले नेतृत्व लिए काँग्रेस माओवादी र एसले २÷२ प्रदेशको नेतृत्व पाउने छन्। हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।
उनलाई एकीकृत समाजवादीको समर्थन छ। यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो। हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन्।प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दुई दलमा २ सांसद छन्। दुई मध्ये एक जना जसपा र एक जना लोसपाका सांसद हुन्।