सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई बर्खास्त गरेको छ। चार वर्षका लागि नियुक्त भएका बोर्डका अध्यक्ष ढुंगानालाई २७ महिना बाँकी छँदै मंगलबार हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुु अगावै छोरीको नामबाट शेयर खरिद गरिएका कारण उनी १६ भदौदेखि निलम्बनमा थिए।
अघिल्लो साताको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। त्यसअघि सरकारले न्यायिक छानबिन समिति गठन गरेको थियो, जसले ढुंगानालाई बर्खास्त गर्न सिफारिस गरेको थियो।
बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा शेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए। ढुंगानाका अन्य नातेदारको नाममा पनि शेयर खरिद भएको खुलेको थियो। धितोपत्र बोर्डको अध्यक्षको पदावधि चार वर्षको हुने र पुनः बढीमा चार वर्षका लागि नियुक्त हुन सक्ने व्यवस्था छ।