सयौं नागरिकको सहादतबाट प्राप्त संघीयता ल्याउन तराई–मधेशका नागरिकको मुख्य भुमिका रहेको छ भन्नेमा कसैको दुईमत न होला, तर त्यही संघीयतालाई आधार बनाएर मधेशको मुहानको रुपमा रहेको प्रदेश २ सरकारमा देखिएको भ्रष्ट छबिले सम्पुर्ण मधेशि समुदायलाई नै लज्जित बनाएको छ ।
स्थापना भएको ४ वर्ष बितिसक्दा पनि नाम र स्थायी राजधानी पाउन नसकेको प्रदेशमा भने भ्रष्टाचार र कुसाशन व्याप्त छ ।
बिभिन्न मन्त्रालयहरुबाट सञ्चालन हुने योजनाहरुमा मन्त्रीको कमिशन र कार्यकर्ताको गिद्दे नजरका कारण बिवादित बनिआएको प्रदेश २ पछिल्लो पटकको मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने योजनामा देखिएको भ्रष्टाचार र अख्तियारको छापामारी पश्चात थप बदनाम भएको छ ।
छोरीहरुको शिक्षामा पहुंच बढाउने उद्देश्यले सञ्चालित बेटि पढाउं, बेटि बढाउं अभियानमै अनियमितता देखिएपछि अन्य योजनाहरुको अवस्थाबारे आफै मुल्यांकन गर्न सकिन्छ ।
अभियान अन्तर्गत कक्षा ८ मा पढ्ने किशोरिहरुलाई बिधालय जान प्रोत्साहन गर्ने उद्देश्यले साईकल प्रदान गरिने योजना रहेको छ । करिब ३ वर्षमा हजारौ किशोरीहरुलाई साईकल बितरण पनि गरिएको छ । तर बितरण गरिने साईकल खरिदमै व्यापक अनियमितता देखिएपछि सरकारको उक्त योजनाप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।
मुख्यमन्त्री कार्यालयले विद्यालयले पठाएको विद्यार्थी विवरणअनुसार साइकल उपलब्ध गराउँछन । प्रदेशस्थित शिक्षा निर्देशनालय, जिल्लास्थित शिक्षा समन्वय इकाइ र स्थानीय तहसँग समन्वय नगरी सोझै विद्यालयलाई साइकल वितरण गर्दा प्रदेश सरकार निकटका राजनीति दलको पहुँच भएका विद्यालयले मात्र साइकल पाएको गुनासो पनि छ । प्रदेश सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका प्रधानध्यापकलाई साथमा ल्याएर मुख्यमन्त्री कार्यालयबाट साइकल बुझ्दै आएका छन।
प्रतिगोटा करिब साढे ६ हजारमा किनिएको साईकल एक वर्ष नबित्दै अर्को पटक साढे ८ हजारमा खरिद गरिएको छ । खरिद गरिएका साईकलका न त नाम छ न त लोगो ।
त्यति मात्रै नभई कम रेटमा टेण्डर भरेका सप्लायर्सलाई बाईकाट गरि बढि रेटमा टेण्डर भरेकासंग खरिद गरिएको छ । यस्ता तथ्यले खरिद प्रकृयामा अनियमितता भएकै हो भन्ने कुरा प्रष्ट गर्दछ ।
अझै उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै नभएका १७ हजार दुई सय ६२ थान साइकल खरिदको जिम्मा पाएको ओम सत्यसाई प्रालिका सञ्चालक राजेश अग्रवाल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच घनिष्ठ सम्बन्ध रहेको तथ्य समेत एक अर्को दृष्यको कल्पना गरिरहेको छ । विरगञ्जबासी गद्दि र अग्रवाल एकअर्काका सहयोगि भएको पनि बिभिन्न श्रोतहरुको दाबि छ । दुबैबिचको घनिष्ठताकै आधारमा मुख्यमन्त्री राउतले अग्रवाललाई साइकल खरिदको ठेक्का दिलाएका हुनसक्ने आंकलन छ । जगदम्बा इन्टरप्राइजेजका निर्देशकसमेत रहेका अग्रवालले १७ हजार २६२ साइकल किन्न ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँको ठेक्का पारेका थिए । उनी वीरगन्ज महानगरपालिकाका मेयर विजय सराबगीका सम्धी पनि हुन्, सरावगी र राउत एउटै पार्टिबाट निर्वाचित भएका हुन् ।
भ्रष्टाचारका कुरालाई अभियानका लागि नियुक्त गरिएका कर्मचारीहरुको मुख्यमन्त्री तथा मन्त्रालयका सचिवसंगको कनेक्सनले अझै थप बल दिएको छ ।
मुख्यमन्त्री कार्यालयमा पहिलादेखि कार्यरत प्रेस सल्लाहकारलाई कार्यक्रमको संयोजक बनाईएको छ भने मन्त्रालयका सचिवको छोरालाई सहसंयोजक बनाईएको छ । सचिवकि श्रीमतीलाई समेत सोहि कार्यक्रममा कर्मचारी समेत बनाईएको छ ।
यि, यावत तथ्यलाई कोटल्दा साईकल खरिदमा भएको भ्रष्टाचार,मनसाय,लाभ र स्वाथ्र्यलाई छरपष्ट देखिन सकिन्छ । अख्तियारले ई सबै कुहरुलाई एक ठाउंमा राखि आफ्नो अनुसंधान त गर्नेनै छ ।
यत्रा धेरै प्रमाणहरु हुंदाहुंदै पनि ‘जो चोर, उसैको ठुलो स्वर’ भनेझै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पार्टि जनता समाजवादी पार्टिले आजदेखि आन्दोलनको घोषणा गरेको छ ।
भ्रष्टाचारको प्रमाणका सांथ छापामारी गरेको अख्तियारलाई प्रभावित गर्ने मनसायले आन्दोलनको घोषणा गरिएको आम जनमानसको धारणा बनिसकेको छ ।